सभामुख सापकोटासँग चिनियाँ राजदूत होउको शिष्टाचार भेट
काठमाडाैं | साउन २७, २०७९
काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ ।
उहाँहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा आज बिहान भेटवार्ता भएको हो । भेट दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो ।
सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गर्नुभयो ।
सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घको वडापत्र तथा पञ्चशीलको सिद्धान्तअनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सभामुख सापकोटाले २०७८ चैतमा चीनको राष्ट्रिय जनकंग्रेसका महामहिम अध्यक्ष लि चाङ्सुसँग भर्चुअल छलफल भएको स्मरण गर्दै संसदीय मैत्री समूह, संसद्–संसद्बीच उच्चस्तरीय भ्रमण एवं अनुभव आदानप्रदान गरी सम्बन्धलाई अझ विस्तार र सुदृढ गर्न सकिने धारणा राख्नुभयो ।
सभामुख सापकोटाले नेपालको आर्थिक–सामाजिक क्षेत्रमा चीनको निरन्तर सहयोगका साथै कोभिड–१९ र ठूला प्राकृतिक विपत्तिमा नेपाललाई प्राप्त भइरहेको सहायताका लागि धन्यवाद दिनुभयो । उहाँहरुबीच दुई देशबीचका व्यापारिक नाका सञ्चालन गराउने सम्बन्धमा पनि छलफल भयो ।
भेटमा राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गर्नुभयो । नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताका पक्षमा चीनले सदैव दृढ समर्थन गर्दै आएको उहाँले बताउनुभयो । राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

